• ON AIR
  • UP NEXT

सुनसान सदरमुकाम, चहलपहल गाउँमा

news

विनोद सिंह विष्ट–बैतडी,२४ जेठ-
संघीयताको कार्यान्वयनसंगै पछिल्लो समय बैतडी सदरमुकाम क्षेत्रका बजारमा मानिसको चहलपहल घट्दै जान थालेकोे छ । राज्यको पुनर्संरचनासँगै संघीयताको कार्यान्वयन भएपछि स्थानीय तह बलियो हुँदा सदरमुकाम सुनसान भएको छ भने विकट गाउँहरूसमेत भरिन थालेका छन । साना साना काममा पनि सदरमुकाम र केन्द्रको मुख ताक्नुपर्ने परम्परा स्थानीय तहले अन्त्य गरेपछि सदरमुकाममको चहलपहल घट्दै जान थालेको हो । 
सदरमुकामको घट्दो चहलपहलका कारण चिया पसलदेखि होटल, किराना पसल, स्टेसनरीजस्ता व्यवसाय भने संकटमा परेका छन् । पहिलेपहिले निकै भिडभाड र चहलपहल हुने सदमुकाम अहिले सुनसान जस्तै भएपछि चिन्ता बढेको सदरमुकामको शाहीलेकस्थित दोगडाकेदार होटेलका सञ्चालक चन्द्रदेव कपाडीले बताउनुभयो । सदरमुकाममा मानिसको आवतजावत् र बसोवास कम हुन थालेपछि व्यापारिक कारोबार पनि ओरालो लागेको उहाँको भनाई रहेको छ ।उहाँले भन्नुभयो“ पहिले सदरमुकाममा हुने काम गाउँमै हुन थालेपछि होटलमा आउने ग्राहक ह्वात्तै घटेको छ ”  बजार सुनसान भएसँगै व्यापारी र व्यवसायी चिन्तित बनाएका भन्दै कपाडीले व्यापार घाटा हुने देखेपछि व्यापारीहरू पलायन हुने खतरा बढेर गएको बताउनुभयो  । 
स्थानीय तहको निर्वाचन भएको १ वर्ष पुरा हुदैछ । मानिसहरु गाउँतिर पलायन हुने क्रम जारी रहे सदमुकामका व्यापारी विस्थापित हुने खतरा बढ्न थालेको छ । सदरमुकामका साना व्यापारी गाउँपालिकाको केन्द्रमा बसाइँ सरेको बताउँदै उहाँले आफू भने अन्यौलमा रहेको व्यापारीहरुको भनाइ छ ।  ४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा स्थानीय सरकार बनेपछि गाउँपालिका र नगरपालिकाका केन्द्रमा चहलपहल सुरु हुन थालेको छ । 
सदरमुकाममा चहलपहल घटेपनि स्थानीय तहका केन्द्र आसपासका बजारहरुमा भने चहलपहल बढ्दै गएको छ । स्थानिय तहको केन्द्र भईसकेपछी व्यापार बढ्दै दोगडाकेदार गाउँपालिकाको केन्द्र खोचलेकमा  होटेल सञ्चालन गर्दै आएका केडी रेष्टुरेष्टका सञ्चालक कमल धामीले बताउनुभयो । बिगत ९ बर्षदेखि होटेल व्यवशाय गर्दै आएका धामीले स्थानिय तहको निर्वाचनपश्चात व्यापार व्यवशायमा पनि बुद्धि हुदै गएको बताउनुभएको छ । 
गाउँपालिकामा चहलपहल बढेका बेला सदरमुकामको व्यापार व्यवसायमात्रै होइन, सरकारी अड्डामा समेत सेवाग्राहीको चाप कम हुन थालेको छ । सदरमुकाम सुनसान बन्दै गएका बेला स्थानिय तहमा भने कामकोे चाप बढ्दै गएको स्थानिय तह आसपासमा दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत शेर सिंह विष्टले बताउनुभयो ।  सरमुकाममा पाईने सम्पुर्ण सेवासुविधा गाउँमै पाउन थालेपछी स्थानिय तहका केन्द्रमा चहलपहल बढ्दै गएको उहाँको भनाई रहेको छ । योसँगै सबैजना सदरमुकाममै झुम्मिने परम्पराको अन्त्य हुने देखिएको छ । साथै सदमुकामबाट व्यापारी पलायन हुने खतरालाई रोक्न सरोकारवाला निकायले चासो दिनु आवश्यक छ । सदरमुकाममा बर्षौदेखि व्यापार व्यवशाय गर्दै आएका व्यवशायीलाई भने समस्या भएको  छ । 
स्थानिय तहका केन्द्रहरुमा होटेल अभावका कारण कर्मचारीहरू आवासका लागि बसाइँसराइ गरी रित्ता घरहरूमा आश्रय लिन बाध्य छन् ।  कार्यालय र संघसंस्थाका लागि भाडामा घरहरू पाउन कठिनाइ भइरहेको छ । होटलहरूको समेत अभाव भएको छ । गाउँपालिका सदरमुकामहरूमा सेवाग्राहीहरूको चापसमेत बढ्दै गएकाले खान तथा सुत्नका लागि होटलहरूको अभाव हुन लागेको छ । स्थानिय तहले कुनै बिषेश व्यक्तित्वको उपस्थितिमा कार्यक्रम गर्यो भने खान, बस्न समेत अभाव हुने गरेको छ । नेपालमा संघियताको पहिलो अनुभव भएकोले सुरुमा केही समस्या देखिएपनि यो समस्या बिस्तारै हट्दै जाने जानकारहरुको भनाई रहेको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal