• ON AIR
  • UP NEXT

४ हजार बढी उजुरी तामेलीमा

news

काठमाडौं,२२ जेठ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भ्रष्टाचार र भ्रष्टाचार जन्य उजुरीहरु मध्ये ४ हजार बढी उजुरी तामेलीमा परेको आयोगले जनाएको छ ।

यो आर्थिक वर्ष २०७४÷७५ को २०७४ साउन १ देखि २०७५ बैशाख मसान्तसम्मको उजुरी मध्ये तामेलीमा परेका उजुरी भएको आयोगका सहसचिव रामेश्वर दंगालले बताउनुभयो ।

आयोगले ४ हजार १ सय ६६ उजुरीलाई तामेलीमा राखेको उहाँले बताउनुभयो ‘चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आयोगले ४ हजार १ सय ६६ उजुरी तामेलीमा राखेको छ,’ उहाँले भन्नुभयो तथ्यहिन र आधारहिन भएकैले धेरै जसो उजुरीहरुलाई तामेलीमा राख्नुपरेको उहाँको भनाई छ । ‘कुनै उजुरी दुःख दिने नियतले दर्ता गरेको हुन्छ,’ उहाँले भन्नुभयो–‘त्यस्ता तथ्यहिन, आधारहिन र प्रष्ट नभएका उजुरी प्रारम्भिक अनुसन्धानबाटै तामेलीमा परेको छ ।’

तामेलीमा गएका अधिकांश उजुरी अनुचित कार्य अन्तर्गतको पर्ने र आयोगले संबैधानिक क्षेत्राधिकार भित्र अनुचित कार्य नपरेकोले पनि त्यस्ता उजुरी तामेलीमा पर्ने गरेको आयोगका सहचिब दंगालले बताउनुभयो ।
नेपालको संविधान–२०७२ जारी अघिको संविधानमा आयोगको क्षेत्राधिकारभित्र भ्रष्टाचार र अनुचित कार्य परेपनि संविधान जारी पश्चात क्षेत्राधिकारबाट अनुचित कार्य हटाएपछि आयोगको अनुसन्धान कार्यमा बेमेल आएको आयोगको भनाई रहेको छ ।

कुनै पनि उजुरी उपर अनुसन्धान गर्दा भ्रष्टाचार र अनुचित कार्य दुबैलाई केन्द्र विन्दुमा राखेर अनुसन्धान गर्नु पर्ने धारणा राख्दै आयोगका सहसचिब दंगालले भन्नुभयो–‘भ्रष्टाचार भएको उपर उजुरीमा अनुसन्धान गर्दा अनुचित कार्यमा गएर अनुसन्धान टुंगिने र अनुचित कार्य भएको उपर अनुसन्धान गर्दै जाँदा भ्रष्टाचार भएको तथ्य फेला परेको धेरै उदाहरणहरु छन् ।’

त्यसकारण यस्तै उजुरीहरु उपर अनुसन्धान गरि निचोडमा पुग्न आयोगको क्षेत्रधिकार भित्र अनुचित कार्य पनि पर्नु पर्ने आयोगको अडान रहेको पनि उहाँले बताउनुभयो ।

आयोगले यस आर्थिक वर्षमा जम्मा १६ हजार ८ सय ८ वटा अयोगमा परेको उजुरीहरु रहेको जनायो । जसमध्ये अघिल्लो आर्थिक वर्षको यस वर्ष सरेको उजुरी संख्या ७ हजार ७ सय १९ र यस वर्षको मात्रै ९ हजार ८९ वटा उजुरी रहेको जनायो ।
त्यी उजुरीहरु मध्ये ८ हजार ३ सय १० उजुरी प्रारम्भिक अनुसन्धानबाट फच्र्यौट भएको छ । भने ४९ दशमलब ४४ प्रतिशत उजुरी फच्र्याैट भएको आयोगको दाबी छ ।

प्रारम्भिक अनुसन्धानबाट फच्र्छौट भएका उजुरीहरु मध्ये ४ सय १३ वटा उजुरी विस्तृत अनुसन्धानमा गएको, ४ हजार १ सय ६६ उजुरी तामेलीमा गएको र ३ हजार ७ सय ३१ उजुरी अन्य आवश्यक कारबाहीका लागि पठाईएको आयोगले जनाएको छ ।

त्यस्तै यस आर्थिक वर्षभित्र अनुसन्धान पछि विशेष अदालतमा १ सय १९ वटा मुद्दा दायर गरेको छ । जसमा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धि सबै भन्दा बढी १ सय ३ वटा मुद्दा विशेष अदालतमा दायर गरेको आयोगले जनाएको छ ।

२ सय ६८ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धि मुद्दा हाल्दै १० अर्व ४६ करोड ६४ लाख, ४५ हजार ५ सय ६९ रुपियाँ विगो माग दाबी गरेको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal