• ON AIR
  • UP NEXT

कक्षा ११ मा नयाँ पाठ्यक्रम

news

काठमाडौँ ,२२ जे — राष्ट्रिय पाठ्यक्रम प्रारूप पारित भएसँगै कक्षा ११ मा यसै वर्षदेखि नयाँ पाठ्यक्रम र पाठ्यपुस्तकका आधारमा पढाइ हुने भएको छ । यसपालि एसईई परीक्षा उत्तीर्ण हुने विद्यार्थीलाई नयाँ पाठ्यक्रमका आधारमा पढाइने पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले बताए ।नका अनुसार राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले प्रारूप स्वीकृत गरिसकेकाले कक्षा ११ बाट कार्यान्वयनमा ल्याउन लागिएको हो ।

आगामी शैक्षिकसत्रमा कक्षा १ देखि ३ मा क्रमश: स्वीकृत एकीकृत पाठ्यक्रमका आधारमा पठनपाठन हुनेछ । ‘कक्षा ११ मा यही वर्षदेखि नयाँ पाठ्यक्रम लागू हुन्छ, कक्षा १ देखि ३ मा आगामी शैक्षिक सत्रदेखि र अन्य कक्षामा क्रमश: लागू गर्दै जान्छौं,’ उनले भने ।


विकास केन्द्रले कक्षा ११ र १२ मा एकल पथीय पाठ्यक्रम लागू गरेको हो । अहिले रहेको संकाय प्रणालीको अन्त्यसँगै कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा गरी चार विषय अनिवार्य पढ्नुपर्ने व्यवस्था गरिएको छ । तीनवटा विषय भने ऐच्छिक हुनेछन् ।


‘उच्च शिक्षा जुनसुकै विषयमा पढ्न सक्ने गरी ११ र १२ को पाठ्यक्रम बनाएका छौं,’ उनले भने, ‘संविधान, शिक्षा ऐन र नियमावलीअनुरूप पाठ्यक्रम तयार भएको छ ।’ कक्षा ११ मा अब ५ सयको साटो ७ सय पूर्णांकको पठनपाठन हुनेछ । विद्यार्थीले चारवटा ऐच्छिक विषयमध्ये ३ वटा छनोट गर्न सक्नेछन् । स्थानीय तहको समन्वयमा विद्यालयले विद्यार्थीको रुचि, आवश्यकता, शिक्षकको उपलब्धता र स्रोत–साधन ख्याल गरेर ऐच्छिक विषय छनोट गर्न सक्ने केन्द्रले जनाएको छ ।


विद्यार्थीले ऐच्छिक विषय साधारण धार, विज्ञान तथा प्रविधि र प्राविधिक तथा व्यावसायिक धारबाट छनोट गर्न सक्नेछन् । ऐच्छिक विषयलाई प्रथम, द्वितीय र तृतीय नाम दिइएको छ । विद्यार्थीले ऐच्छिक प्रथम विषय जुन धारबाट छनोट गरेका छन्, द्वितीय र तृतीय पनि सोही धारबाट छान्न पाउनेछन् ।

कक्षा ११ मा जुन समूहबाट ऐच्छिक विषय छनोट गरिएको छ, १२ मा पनि सोही समूह वा धारबाट विषय छान्नुपर्ने छ । काप्रीले भने, ‘बालबालिकाले पढाइ सक्दा रोजगार हुन सक्ने र कुनै न कुनै सीप सिक्न सक्ने ग्यारेन्टी पाठ्यक्रमले गरेको छ ।’


ऐच्छिक विषयमध्ये एक विषय स्थानीय परिवेशमा आधारित हुनेछ । स्थानीय तहले उक्त विषय छनोट र पाठ्यक्रम निर्माण गर्नेछ । प्रदेश र स्थानीय तहले राष्ट्रिय पाठ्यक्रम पारुपका आधारमा पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउन सक्ने काप्रीले जनाए । कक्षा ४ देखि १२ सम्म १०२४ कार्य घण्टाको पठनपाठन गर्नुपर्ने व्यवस्था गरिएको छ । ४० र ४५ मिनेटको पिरियडलाई पाठ््यक्रमबाटै एक घण्टाको कायम गरिएको हो ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal