• ON AIR
  • UP NEXT

उम्मेद्वार मनोनयन तयारी पूरा

news

निर्वाचन आयोगको कार्यतालिका अनुसार भोली हुने उम्मेद्वार मनोनयन तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले बैतडीले जनाएको छ । जिल्लाका सबै निर्वाचन अधिकृतका कार्यालयहरुमा कर्मचारी,सुरक्षाकर्मी र आवश्यक सामग्री पुगिसकेको जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुँयालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘मनोनयन दर्ताका लागि राजनीतिक दलहरुले पनि उम्मेद्वारको नामावली पठाइसकेको छ ।
 
हामीले मतदाता नामावलीमा नाम भए नभएको रुजु गरेर पठाइसकेका छौं ।’जिल्लाका ९ ओटा निर्वाचन अधिकृत कार्यालय र दशरथचन्द नगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सबै तयारी पूरा भइसकेको उहाँले बताउनुभयो । भोली बिहान १० बजेदेखि साँझ ५ बजे सम्म मनोनयन दर्ता गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ ।
 
यता राजनीतिक दलहरुले मनोनयन दर्ताको अघिल्लो दिन चुनावी प्रचारप्रसार र मनोनयन दर्ताको तयारीलाई तिव्रता दिएका छन् । सबै स्थानीय तहका उम्मेद्वारहरु निर्वाचन अधिकृतको कार्यालय रहेको स्थानमा पुग्ने क्रम जारी रहेको नेपाली कांग्रेस बैतडीका सचिव एवं सुर्नया गाउँपालिकामा अध्यक्ष पदका उृम्मेद्वार बीरबहादुर बिष्टले बताउनुभयो ।
 
यस्तै दलहरुले भोली हुने  मनोनयका लागि आ आफ्नो शक्ति प्रदर्शन समेत गर्ने भएका छन् । सडक भएका ठाउँमा गाडी बुक गरेर कार्यकर्ता सहित मनोनयन दर्ता गर्ने तयारी राजनीतिक दलहरुले गरिरहेका हुन् । यसैबीच मनोनयनका दिन हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखेर उच्च सुरक्षा सर्तकता अपनाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।
 
जिल्लामा अहिले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र म्यादी प्रहरी सुरक्षाका लागि खटिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्वाचनमा बाह्य सुरक्षाका लागि सशस्त्र र नेपाली सेना खटाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal