• ON AIR
  • UP NEXT

आईपीएलको उपाधि चेन्नईलाई,हैदरावाद ८ विकेटले स्तब्ध

news

मुम्बई ,१४ जेठ  – आईपीएल क्रिकेटको उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले  हराउँदै चेन्नई तेस्रोपटक आईपीएलको च्याम्पियन बनेको हो । यो जितसँगै चेन्नइले २० करोड भारू (३२ करोड रुपैयाँ) जितेको छ।
आईपीएलमा २ वर्षको प्रतिबन्धपछि आएको चेन्नईलाई विजयी बनाउन शेन वाटशनले नटआउट १ सय १७ रन बनाए । विष्फोटक व्याटिङ गरेका वाटसनले मात्र ५७ बलमा ८ छक्का र ११ चौकाको मद्दतमा १ सय १७ रन बनाए । सुरेश रैनाले ३२ तथा फाप डु प्लेसिसले १० रनको योगदान गरेपछि १ सय ७९ रनको लक्ष्य चेन्नईले खेल सकिन ९ बल बाँकी हुँदै भेट्टाएको थियो ।
मुम्बईमा टस हारेर पहिले व्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो ।हैदरावादकालागि केन विलियम्सनले ४७ रन बनाए भने युसुुफ पठान ४५ रनमा नट आउट रहे । यससँगै, चेन्नईले आईपीएलको यही सिजनमा हैदरावादलाई ४ पटक पराजित गर्‍याे । आइपीएल २०१८ मा पहिलोपटक नेपाली खेलाडीले सहभागीता जनाउने मौका पाएका थिए। नेपालबाट लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए। दिल्लीबाट तीन खेल खेल्ने मौका पाएका सन्दीपले तीनवटै खेलमा उत्कृष्ट बलिङ गरेका थिए।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal