• ON AIR
  • UP NEXTसिधा प्रश्न सिधा जवाफ

चितुवाको आक्रमणबाट एक महिला घाइते

news

बैतडी : बैतडीको तल्लोसोराडमा फेरी नरभक्षी चितुवाले आक्रमण गर्न थालेको छ । चितुवाको आक्रमणबाट शिवनाथ गाउँपालिका वडा नं ५ कफाडीका ४० बर्षीया गौरी धामी बिहीबार राती घाइते हुनु भएको छ । 


घरबाट बाहिर आएका बेला धामीलाई चितुवाले एक्कासी आक्रमण गरी चिथोरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । घाइते धामीको खुट्टामा चोट रहेको र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘रातीको समयमा उहाँ बाहिर आउनु भएको रहेछ । करीब अढाइ बजेतिर । एक्कासी चितुवाले आक्रमण गरेछ । उहाँ कराएपछि चितुवा भागेछ । अहिले घाइतेको अवस्था समान्य रहेको छ ।’


तल्लोसोराडमा २०६८ सालदेखि चितुवाको आक्रमणबाट २२ जनाको ज्यान गइसकेको छ । गत भदौमा दुई जना बालिकाको ज्यान लिएपछि चितुवा मार्नका लागि प्रहरी टोली समेत परिचालन गरिएको थियो । चितुवाले बिहीबार राती एक्कासी आक्रमण गरेपछि तल्लोसोराडका बासिन्दा त्रसित बनेका उदयदेव स्वास्थ्यचौकीका इन्चार्ज नरेन्द्र महताले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘केही महिनादेखि हामी चितुवाको त्रासबाट मुक्त भएका थियौं । फेरी हिजोको घटनाले झस्काएको छ ।’


नरभक्षी चितुवाले मानिसमाथि नै आक्रमण गर्न थालेपछि बालबालिकाहरुलाई विद्यालय पठाउन समेत समस्या भएको शिवनाथ गाउँपालिका उदयदेवका विरेन्द्रसिंह महताले बताउनुभयो । उहाँले भन्नुभयो ‘चितुवाले हामीलाई गएको ५ बर्ष यता सताइरहेको छ । हामीलाई अब त धेरै डर लागिरहेको छ ।’

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal