• ON AIR
  • UP NEXT

बैतडीमा बिडिसिए कप क्रिकेट : ग्वाल्लेक बाहिरियो

news

विनोद सिंह विष्ट–बैतडी,२६ चैत-
ग्वाल्लेक क्रिकेट क्लव, बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताबाटै बाहिरिएको छ । सोमवार खोडपे क्रिकेट क्लवसंग १० विकेटको नमिठो हारसंगै ग्वाल्लेक प्रतियोगिताबाटै बाहिरिन बाध्य भएको हो । निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा टस हारेर ब्याटिंगको निम्ता पाएको खेलमा ग्वाल्लेक १० ओभरमा ३१ रनमा समेटियो । ग्वाल्लेकका कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् । खोडपेका दिपेन्द्र ऐरी र रुपेस ऐेरीले समान तीन तीन विकेट हात पारे । ३२ रनको झिनो लक्ष्य खोडपेले १ दशमलव ५ ओभरमा बिना विकेटको क्षतीमा पुरा गर्यो । म्यान अफ द म्याच खोडपेका दिपेन्द्र ऐरीले अविजित ३६ रनको पारी खेले । ग्वाल्लेक यसअघि आईतवार भएको पहिलो निंगलाशैनी क्रिकेट क्लवसंग ८ विकेटले पराजित भएको थियो भने केदारशक्तिसंग हुने भनिएको अर्को खेल बर्षाका कारण अवरुद्ध भएपछी एक एक अंक बाडेका थिए ।
उता बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा भएको खेलमा कैलपाल क्रिकेट क्लवलाई २ विकेटले हराउदै त्रिपुरा क्रिकेट क्लवले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । टस जितेर ब्याटिंग गरेको कैलपालले ९ विकेटको क्षतीमा १२४ रन बनायो । १२५ रनको लक्ष्य त्रिपुराले १७ ओभरमा ८ विकेटको क्षतीमा पुरा गर्यो । त्रिपुराका लागी कप्तान बिरेन्द्र रानाले ३६ रन बनाए ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा चैत २५ देखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।
प्रतियोगिताको उपाधी विजेताले ३० हजार, उप विजेताले २० हजार र म्यान अफ द सिरिज एक जनाले ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने जनाएको छ ।
बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७ औं संस्करणले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal