बैतडीमा हात्तीपाइले रोगीको खोजी हुदै

विनोद सिंह विष्ट–बैतडी, १२ चैत -
बैतडीमा हात्तीपाइले रोगीको खोजी अभियान आजदेखि सञ्चालन हुने भएको छ । पहिलो चरणमा आजदेखि जिल्लाका ६ वटा स्थानिय तहमा हात्तीपाईले रोगीको खोजी गरिन लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोस पाण्डेयले जानकारी दिनुभयो । पहिलो चरणमा दशरथचन्द नगरपालिका , पाटन नगरपालिका,मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा उक्त अभियान सञ्चालन हुने जनाएको छ । चैत १४ गतेसम्म सञ्चालन गते उक्त अभियानमा महिला स्वयंमसेविकाले घर घरमा गएर हाईड्रोसिल तथा हात खुट्टा सुन्निएको बिरामीको खोजी गर्ने हेल्थ असिस्टेन्ट पाण्डेयले बताउनुभयो । हात्तीपाईतेका बिरामी खोजी अभियानमा ४८३ महिला स्वयंमसेविका र २५० स्वास्थ्यकर्मी गरी ७३३ जनशक्ति परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । पहिलो चरणको खोजी अभियान सकिएलगत्तै दोगडाकेदार, डिलाशैनी,सिगास र पुर्चौडीमा दोस्रो चरण खोजी अभियान सञ्चालन गरिने भएको छ ।
६ वर्षसम्म हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाएपछी बैतडीमा अझै पनि हुनसक्ने भन्दै खोजीगर्ने भएको हो । यो अभियानले हात्तीपाइले रोगविरुद्धका औषधी अभियानको प्रभावकारिता कस्तो भयो भनेर थाहा हुने जनाएको छ ।
हात्तीपाइले रोगका बिरामीमा हात खुट्टा सुन्निएकाको उपचार गरिन्छ भने हाईड्रोसेल भेट्टिएमा जिल्ला अस्पताल बैतडीमा जुनसुकै समयमा पनि निशुल्क रुपमा अप्रेशन गरिने हेल्थ असिस्टेन्ट पाण्डेयले बताउनुभयो । यस्तो किसिमका बिरामीले महिला स्वयंमसेविका तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आउन जिल्ला स्वास्थ्य कार्यालय बैतडीले अनुरोध गरेको छ । यसका साथै यो अभियान सम्पन्न भएपछी जिल्ला स्वास्थ्य कार्यालयमा हाईड्रोसेल शल्यक्रियाकोे निशुल्क शिविर बस्ने जनाएको छ ।
हात्तीपाइले रोग निर्मूल गर्ने नीतिका साथ यसअघि ६ पटकसम्म हात्तिपाईले रोगविरुद्धको औषधी आम खुवाईएको थियो ।
सरकारले नेपालमा सन २०२० सम्म हात्तिपाईले निवारण गर्ने लक्ष्य राखेको छ ।