• ON AIR
  • UP NEXT

बैतडीका शक्तिपीठमा भव्य जात्रा

news

बैतडी,११ चैत-
बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरमा चैतदशैंको अवसरमा जात्रा तथा मेला लागेको छ । प्रत्येक बर्षको चैतमा हुने नवरात्रीमा शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा जारी रहेको स्थानीयहरुले बताएका छन् । बैतडीको देहीमाण्डौंमा रहेको प्रसिद्ध निंगलासैनी भगवती मन्दिर, त्रिपुरा सुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलासैनी भगवती मन्दिरमा पूजाआजा सहित बलि दिने चलन समेत रही आएको छ । चैतको नवरात्रमा चोखोभोको रहेर शक्तिपीठहरुको पूजाआजा गर्ने चलन रही आएको निंगलासैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले जानकारी दिनुभयो । जिल्लाका शक्तिपीठ तथा मन्दिरमा भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । निंगलासैनी भगवती मन्दिरमा आज रांगा तथा बोकाको बली दिईने गरिन्छ ।  यहाँ बैतडी,डडेल्धुरा,दार्चुला र छिमेकी मुलुक भारतवाट समेत दर्शनार्थी आएका छन् । देहीमाण्डौंमा लाग्ने जात्रालाई भव्य रुपमा मनाउनका लागि मेला अवधिभर मदिरा निषेधित क्षेत्र घोषणा गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । जात्रामा कसैले मदिरा सेवन तथा विक्रि वितरण गरेको पाइएमा कानुनी कारवाही गरिने बताइएको छ । यसैबीच पुर्चाैंडी नगरपालिकाको मल्लादेहीमा रहेको डिलासैनी भगवती मन्दिरमा शनिवार जात्रा सम्पन्न भएको छ । चैत्राष्टमीका दिन रांगा र बोकाको बलि सहित मन्दिरमा जात्रा सम्पन्न भएको स्थानिय राजेश धामीले जानकारी दिनुभयो । डिलासैनी भगवती मन्दिरमा ३ रांगाको बलि दिइएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal