• ON AIR
  • UP NEXT

सुर्नया गाउँपालिका : शैक्षिक कानुन निर्माणका लागि परामर्श

news

बैतडी,१० चैत-
बैतडीको सुर्नया गाउँपालिकाले शैक्षिक कानुन निर्माणका लागि परामर्श थालेको छ । संविधान अनुसार आधारभूत र माध्यमिक तहको शिक्षा हेर्ने जिम्मेवारी स्थानीय तहमा आएपछि आवश्यक शैक्षिक कानुन निर्माणका लागि परामर्श थालिएको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ गाउँपालिकाभरी रहेका सामुदायिक विद्यालयहरुको अवस्थाका बारेमा बुझ्न परामर्श थालिएको छ” केही दिन पहिले सुर्नया २ मा परामर्श गोष्ठी गरेको गाउँपालिकाले वडा नं ६ मा रहेको शंकर संस्कृत माविमा विद्यालयका शिक्षक,व्यवस्थापन समिति अध्यक्ष लगायत सरोकारवाला पक्षसंग पनि छलफल गरेको छ । दुवै ठाउँमा सञ्चालन गरिएका परामर्श गोष्ठीबाट प्राप्त सुझावको आधारमा शैक्षिक कानुन निर्माण गर्ने गाउँपालिका अध्यक्ष बिष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ विद्यालयहरुको संरचना, प्रशासनिक अवस्था, भौतिक अवस्था, शैक्षिक अवस्था लगायतका बिषयहरुको बारेमा जानकारी पाइसकेपछि शिक्षालाई गुणस्तरीय बनाउन कानुन निर्माण गरिनेछ”  
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किदै गएका बेला गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको अध्यक्ष बिष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ गाउँपालिकाभरीबाट शिक्षाका बिषयवस्तुमा धेरै सुझाव आएका र ती सुझावलाई समेटेर कानुन निर्माणका लागि कार्यपालिकामा लगिनेछ” 
कार्यपालिकाले तयार पारेको शैक्षिक कानुनलाई गाउँसभामा लगेर पारित गर्ने उहाँले बताउनुभयो । शिक्षालाई व्यवस्थित गर्ने अधिकार स्थानीय तहमा आएपछि शिक्षाको कानुन निर्माणका लागि गाउँपालिकाले थालेको पहल निकै सराहनीय रहेको रौलेश्वर माविका प्रधानाध्यापक गणेशदत्त अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो“ शिक्षालाई व्यवस्थित गर्न कानुन बनाउनु गाउँपालिकाको यो राम्रो पक्ष हो ”
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal