• ON AIR
  • UP NEXTसिधा प्रश्न सिधा जवाफ

सेनाले एकैपटक १० ठाउँबाट फास्ट ट्र्याकको निर्माण थाल्दै

news

१४ जेठ, निजगढ - नेपाली सेनाले एकैपटक १० स्थानबाट काठमाडौं-तराई फास्ट ट्र्याकको निर्माण गर्ने सुरु गर्ने भएको छ । आज आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको फास्ट ट्र्याक निर्माणका लागि अब तत्काल सेनाको निर्माण कार्यदल विभिन्न स्थानबाट खटिनेछ । सेनाले फाष्ट ट्र्याकलाई १० सेक्टरमा विभाजन गरेर काम थाल्ने आयोजना प्रमुख नेपाली सेनाका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडले जानकारी दिए । यसका लागि फास्ट ट्रयाकको रुटका विभिन्न स्थानमा निर्माण कार्यदललाई क्याम्पका रुपमा खडा गरिनेछ । एकैपटक सबै स्थानबाट काम सुरु गरेर अबको ४ वर्षभित्र यसलाई टुंग्याउने योजना सेनाको छ । ‘आइटम’ छुट्याएर काम कार्यदलमार्फत फास्ट ट्रयाकमा गर्नुपर्ने कामका प्रकृतिअनुसार विभिन्न कामहरुको ‘आइटम’ छुट्याइनेछ । ट्रयाक तथा सडक विस्तार, टेवा पर्खाल, कटिङ क्षेत्र पर्खाल, सुरुङमार्ग, पुल, कल्भर्ट लगायत निर्माणलाई छुट्टा-छुट्टै रुपमा कार्यविभाजन गरेर काम सुरु गर्ने सेनाले बताएको छ । सेनाले अहिले सुरु गर्न लागिएको कामलाई प्रारम्भिक निर्माण भनेको छ । आयोजना प्रमुख खाँडले फास्ट ट्र्याकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नभएकाले सेनालाई काम अघि बढान समस्या परेको बताए । उनले आयोजनाको डीपीआर पनि प्राप्त गर्ने गरी छलफल अघि बढेको बताए । यसअघि नै भारतीय कम्पनीले आयोजनाको डीपीआर तयार गरेको थियो । अहिले सोही डीपीआर किन्ने की नयाँ डीपीआर तयार गरेर अघि बढ्ने भन्ने अन्योल छ । नयाँ डीपीआर बनाउन लाग्दा निर्माणमा ढिलाइ हुने भएकाले भारतीय कम्पनीसँग नै डीपीआर किन्न छलफल अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बतायो । फास्ट ट्रयाक निर्माणका लागि उच्च स्तरको जनशक्ति पनि आवश्यक पर्ने भएकाले सेनाले राष्ट्रिय/अन्तर्राष्ट्रिय परामर्शदाता छनौट गर्नेबारे आन्तरिक तयारी गरिरहेको खाँडले बताए । सडक रुट र ब्यवस्थापन आयोजना अघि बढाउन सेनाले कार्य सम्पादन संयन्त्र र त्यसको कार्यबिधि पनि बनाइरहेको छ । आयोजना अघि बढाउन र यसमा आइपर्ने समस्या सुल्झाउन सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको अध्यक्षतामा अधिकार सम्पन्न फास्ट ट्र्याक निर्माण निर्देशक समिति पनि बनाइएको छ । यसले आयोजनाका लागि आवश्यक पर्ने आवश्यक कानुनी र नीतिगत ब्यवस्थाका लागि छलफल अघि बढाएको खाँडले बताए । काठमाडौं तराई फास्ट ट्रयाक ललितपुरको खेकनाबाट सुरु भएर काठमाडौंको चाल्नाखेल हुँदै दक्षिणकाली- इपा- गढी- छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ भएरनिजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिन्छ । फास्ट ट्रयाकले ललितपुरमा किलोमिटर छुन्छ भने काठमाडौंको ४, मकवानपुरको ५६.७ र बारामा ७.६ किलोमिटर क्षेत्र दू्रत मार्गमा पर्छ । कस्तो बन्छ ? यो मार्ग ४ लेनको आधुनिक तथा सुविधा सम्पन्न किसिमको हुनेछ । कुल ७६.२ किलोमिटरको यो द्रुत मार्गले पहाडी क्षत्रेमामा २३ मिटर र तराईमा २५ मिटर चौंडाइ ओगट्नेछ । प्रतिलेन चौंडाइ ३.७५ मिटरको हुने आयोजना प्रमुख खाँडले बताए । फास्ट ट्र्याकमा उच्च प्रविधिका सहित ९९ सय वटा पुल निर्माण हुनेछ । सरुङमार्ग पनि दू्रतमार्गमा डेढ किलोमिटर २ मुखे सुरुङ पनि निर्माण गरिनेछ । मकवानपुरको ठिंगनबाट रातोमाटेसम्म दुई मुख भएका सुरु निर्माण गरिनेछ । सुरुङमार्गको बीचमा बचाव सडक पनि खोलिनेछ । सुरुङमा आइपर्ने दुर्घटनालाई मध्यनजर गरेर यस्तो सडक पनि खोल्ने योजना छ । एउटा सुरुङमार्गको चौंडाइ ९.५ मिटरको हुनेछ । यसको उचाइ ५.५ मिटरको हुने आयोजना प्रमुख खाँडले जानकारी दिए । दू्रतमार्गमा ६ वटा इन्टरचेञ्ज अर्थात प्रवेश मार्गहरु रहनेछ । यात्रु र गाडीको ३९ वटा भिन्न सतह क्रसिङ पनि यसमा राखिनेछन् । आकाशे पुल र दस्तुर केन्द्र सडकमा बाटो काट्न ६ वटा आकाशेपुल पनि बन्नेछन् । आयोजनामा कुल १६० वटा कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ । ६१ किलोमिटर क्षेत्रमा टेवा पर्खाल र ६२ किलोमिटरमा कटिङ क्षेत्र पर्खाल बनाइनेछ । यसैगरी द्रुतमार्गभरिमा २ वटा अर्धस्वचालित प्रविधिको ट्रल प्लाजा अर्थात राजश्व दस्तुर केन्द्रं राखिनेछ । सवारीसँग सडकमा गुडेबापतको कर उठाउन यस्तो प्रविधि जडान गरिनेछ । यो मार्गबनेपछि काठमाडौंबाट तराई पुग्न जम्मा १ घण्टा लाग्नेछ । न्युनतम् ६५ देखि १२० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन सकिनेछ । २-२ किलोमिटरमा टेलिफोन सडक तथा सवारी सुरक्षाका लागि सडका सुरक्षा र सूचना प्रणलीहरु पनि जोडिनेछ । विभिन्न स्थानमा मेडिकल, सुरुङमार्गमा अग्नि नियन्त्रक र ट्राफिक ब्यवस्थापक प्रणाली पनि ब्यवस्थित गर्ने योजना छ । सडकका प्रत्येक २ किलोमिटरमा दुर्घटनाबारे जानकारी दिन मिल्ने गरी हटलाइन टेलिफोनको ब्यवस्था पनि गरिने आयोजना प्रमुख खाँडले बताए । मार्गको दयाँतर्फ खानेपानी, अप्टिकल, ग्यास, विद्युत प्रशारणलाइन लगायतका पूर्वाधार पनि राख्न मिल्ने गरी सडक तयार गरिने सेनाले बताएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal