• ON AIR
  • UP NEXT

सरकारलाई उपेन्द्र यादवको आग्रह-राजपालाई चुनावमा जाने अवसर दिनुस्

news

१४ जेठ, रौतहट - संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दल दर्ता र चुनाव चिन्ह प्रदान गरेर राजपालाई पनि चुनावमा भाग लिने अवसर दिन सरकारलाई आग्रह गरेका छन् । यसका लागि चुनावको मिति २/४ दिन अघिपछि गर्न सकिने उनले बताए । रौतहटको गौरमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रम पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले दल दर्ता र चुनाव चिन्हको मागलाई सरकार र निर्वाचन आयोगले सम्बोधन गर्नु पर्ने बताए । राजपाले चुवावमा आउन नै बैशाख ९ गते सम्झौता गरेको र चुनाव दुई चरणमा सारेको उनको भनाइ छ । दल दर्ता र चुनाव चिन्हका कारण मात्र राजपाले चुनावमा आउन आनाकानी गरेको भन्दै उनले भने, ‘निर्वाचन आयोगमा चुनाव चिन्ह माग्न जानु भो तर, आयोगले म्याद गुजि्रएको र दल दर्ता भएकाले चुनाव चिन्ह दिन नसकिने भन्ने उत्तर दिएपछि यो परिस्थिति जन्मिएको हो ।’ उनले अघि भने, ‘यस्ता सानातिना कुराहरुलाई निर्वाचन आयोग र राज्यले व्यवस्थापन गर्नुपर्छ । र, उहाँहरु -राजपा)लाई पनि चुनावमा आउने अवसर दिनुस् ।’ राजपालाई चुनाव सहभागी गराउन र मुस्लिमहरुको महान पर्व रमजान परेका कारण जेठ ३१ को मिति केही दिन अघिपछि गर्न सकिने उनले बताए । उनले सबै मिलेर चुनाव र आफ्ना मुद्दाहरु अघि बढाउन राजपा नेपाललाई प्रस्ताव समेत गरेका छन् । -अनलाईन खबर बाट

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal