• ON AIR
  • UP NEXT

ताजा खबर

बैतडीमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीमाथि हातपात

news

विनोद सिंह विष्ट–बैतडी,३० फागुन-
बैतडीमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीमाथि स्थानिय बासिन्दाले आज हातपात गरेको छ । 
जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिका वडा नं ४ मा रहेको उदयदेव स्वास्थ्यचौकी व्यवस्थापन समिति गठनमा असहमति जनाउँदै केही स्थानीयहरुले स्वास्थ्यचौकी इन्चार्ज, वडा अध्यक्ष र गाउँपालिकाका नायब सुब्बा माथि हातपात गरेका छन् । निर्देशिका अनुसार गठन गरेको समिति नमान्ने भन्दै उनीहरुले माइन्युट समेत च्यातेको उदयदेव स्वासथ्यचौकीका इन्चार्ज शिवकुमार कठरीयाले जानकारी दिनुभयो । बजार व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर महता सहित ३, ४ जनाले माइन्युट च्यातेर आफूहरुमाथि हातपात गरेको शिवनाथ गाउँपालिका नायवसुब्बा बीरसिंह महताले जानकारी दिनुभयो । उदयदेव स्वासथ्यचौकीका इन्चार्ज शिवकुमार कठरीया, वडा नं ४ का वडा अध्यक्ष लक्ष्मणसिंह महता र शिवनाथ गाउँपालिकाका नायब सुब्बा बीरसिंह महतामाथि हातपात भएको हो । उहाँले भन्नुभयो“ आफूहरुमाथि हातपात भएपछि गाउँमा काम गर्नै समस्या भएको छ”
 निर्देशिका अनुसार वडास्तरमा रहेका स्वास्थ्यचौकीको व्यवस्थापन समिति सम्बन्धित वडाको वडा अध्यक्षको अध्यक्षतामा गाउँपालिका अध्यक्ष संरक्षक रहने गरि समिति गठनगर्नुपर्ने व्यवस्था रहेको छ । हातपात गर्ने समूहले आफूहरुले निर्देशिका नमान्ने बताएको स्वास्थ्यचौकी इन्चार्ज कठरीयाले जानकारी दिनुभयो । यता बजार व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर महताले आफूहरुले कसैमाथि हातपात नगरेको दाबी गर्नुभयो । आफूहरुले प्रक्रियागत हिसाबले बैठक बसालेर समिति गठन गर्न आग्रह गरेको तर उनीहरुले नमानेको र स्वास्थ्यचौकीका अहेव देवराज न्यौपानेले माइन्युट च्यातेको आरोप उहाँले लगाउनुभयो । उपभोक्ता समितिका पदाधिकारीहरुको तालिममै स्वास्थ्य व्यवस्थापन समिति गठन गर्न लागेकाले आफूहरुले असहमति जनाएको तर हातपात गरेको आरोप झुट्टा भएको वडा सदस्य टीकाराम कोलीले जानकारी दिनुभयो । यसबारे प्रहरीलाई बुझ्दा अहिलेसम्म हातपात भएकोबारे कुनै पनि जानकारी नआएको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।   
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal