• ON AIR
  • UP NEXT

उपाधीका लागी खलंगा र देहिमाण्डौं भिड्ने

news

विनोद सिंह विष्ट–बैतडी,९ माघ–
बैतडीमा जारी मेयर कप टि–ट्वान्टी  क्रिकेट प्रतियोगिताको उपाधीका लागी बुधवार दशरथचन्द नगरपालिका ४ खलंगा र दशरथचन्द नगरपालिका २ देहिमाण्डौं भिड्ने भएका छन् । मंगलवार सम्पन्न दोस्रो सेमिफाईनल खेलमा दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकलाई ११५ रनले पाखा लगाउदै खलंगा फाईनलमा पुगेको हो । भने दशरथचन्द नगरपालिका ६ थालिगाडालाई ४ विकेटले  स्तब्ध पार्दै देहिमाण्डौं उपाधी नजिक पुगेको हो । बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर व्याटिङ गरेको खलंगाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १६८ रन बनायो । भरत चन्दले ४४,मोहित भण्डारीले २६ तथा महेश चन्दले २४ रनको योगदान गरे । १६९ रनको विजय लक्ष्यका साथै मैदान उत्रेको ग्वाल्लेक १४ दशमलव ३ ओभरमा ५३ रनमा समेटियो । पिताम्वर जोशीको सर्वाधिक १४ रन बाहेक अन्य ब्याट्सम्यान चल्न नसक्दा ग्वाल्लेक सेमिफाईनलबाटै घर फर्किन बाध्य भयो । ग्वाल्लेकको पारी ध्वस्त पार्ने क्रममा खलंगाका लागी म्यान अफ द म्याच भएका सुरज बोहरालाई ४ विकेट हात पारे । 
यसअघि बिहान सम्पन्न पहिलो सेमिफाईनल खेलमा रिषिकेश बोहराको अलराउन्डर प्रदर्शनले दशरथचन्द नगरपालिका ६ थालिगाडालाई ४ विकेटले  पराजित गर्दै दशरथचन्द नगरपालिका –२ देहिमाण्डौंले फाईनल यात्रा सुरक्षित गरेको थियो ।   टस जितेर व्याटिङ गरेको थालिगाडाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १३५ रन बनायो । चन्दन रावलले ३४ तथा किशोर चन्दले २० रन जोडे । १३६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको देहिमाण्डौंले १९ दशमलव १ ओभरमा लक्ष्य भेट्टायो । दिपक बोहराले ३७ रनको योगदान गरे ।  थालिगाडाका दिपेन्द्र रावलले २ विकेट हात पारे ।  अलराउन्डर प्रदर्शन गरेर व्यक्तिगत २२ रन नटआउट तथा २ विकेट हात पारेका देहिमाण्डौंका रिषिकेश बोहरा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको उपाधी भिडन्त बुधवार बिहान १० बजेदेखि सुरु हुने नगर क्रिकेट समितिका अध्यक्ष अशोक बहादुर चन्दले जानकारी दिनुभयो । 
उपाधी विजेताले ५० हजार, उपविजेताले ३० हजार र म्यान अफ द सिरीज १ जनाले ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने नगर क्रिकेट समितिका अध्यक्ष अशोक बहादुर चन्दले जानकारी दिनुभयो । शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो । 
माघ ३ गतेदेखि सुरु भएको प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal