• ON AIR
  • UP NEXT

मेयर कप : सेमिफाईनलका खेलहरु हुदै

news

विनोद सिंह विष्ट–बैतडी,९ माघ–
बैतडीमा जारी प्रथम मेयरकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाईनलका खेलहरु हुने भएका छन् ।  बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा बिहान ९ बजे हुने पहिलो सेमिफाईनल खेलमा दशरथचन्द नगरपालिका २ देहिमाण्डौं र वडा नम्वर ६ थालिगाडा भिड्ने भएका छन् । देहिमाण्डौं समूह “ए”को विजेता बन्दै सेमिफाईनल पुगेको हो भने थालिगाडा समूह “डी”को विजेता बन्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । देहिमाण्डौंले समूह चरणको अन्तिम खेलमा त्रिपुरालाई ६ विकेटले स्तब्ध पारेको थियो भने थालिगाडाले दुर्गाभवानीलाई ५ विकेटले पराजित गरेको थियो । 
यस्तै मध्यान्ह १२ बजेपछी हुने दोस्रो सेमिफाईनल खेलमा दशरथचन्द नगरपालिका ५ खलंगा र वडा नम्वर ९ ग्वाल्लेक प्रतिस्प्रर्धा गर्ने भएका छन् ।  खलंगा समूह “बी”को विजेता बन्दै अन्तिम चारमा पुगेको हो भने ग्वाल्लेक समूह“सी” को विजेता बन्दै सेमिफाईनमा स्थान सुरक्षित गरेको हो । खलंगाले समूह चरणको अन्तिम खेलमा बाराकोटलाई २ विकेटले पाखा लगाएको थियो भने ग्वाल्लेकले दशरथचन्दलाई ३ विकेटले हराएको थियो ।  
प्रतियोगिताको उपाधी विजेताले ५० हजार, उपविजेताले ३० हजार र म्यान अफ द सिरीज १ जनाले ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने नगर क्रिकेट समितिका अध्यक्ष अशोक बहादुर चन्दले जानकारी दिनुभयो । शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो । 
माघ ३ गतेदेखि सुरु भएको मेयरकप क्रिकेट प्रतियोगितामा ११ टोली सहभागी रहेका थिए ।  प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal