• ON AIR
  • UP NEXT

मेयर कप क्रिकेट : ग्वाल्लेक फाईनल नजिक

news

विनोद सिंह विष्ट–बैतडी,७ माघ–
दशरथचन्द नगरपालिका ९ ग्वाल्लेक,बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ ।  बुड्डाबाजे क्रिकेट मैदान,रातामाटामा सम्पन्न खेलमा दशरथचन्द नगरपालिका वडा नम्बर ५ दशरथचन्दलाई ३ विकेटले स्तब्ध पार्दै ग्वाल्लेक अन्तिम चारमा पुगेको हो ।  टस हारेर ब्याटिङको निम्ता पाएको दशरथचन्द १६ ओभरमा १०५ रनमा समेटियो । जसमा राजेन्द्र भट्टले सर्वाधिक २५ रनको योगदान गरे । ग्वाल्लेकका प्रेम जोशीले ४ विकेट हात पारे । 
१०६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको ग्वाल्लेकले १६ दशमलव १ ओभरमा ७ विकेटको क्षतीमा लक्ष्य भेट्टायो । दशरथचन्दका नरेश रावलले ३ तथा राजेन्द्र भट्टले २ विकेट लिए । ग्वाल्लेकका लागी व्यक्तिगत ४९ रन जोडेका नरेश जोशी म्यान अफ द म्याच घोषित भए । यो जित संगै ग्वाललेक मेयरकपको सेमिफाईन प्रबेश गर्ने तेस्रो टोली बनेको छ । खलंगा र देहिमाण्डौं यसअघि नै सेमिफाईनलमा पुगिसकेका छन् । 
यसैबिच सोमवार समूह चरणका अन्तिम दुई खेल हुने भएका छन । बिहान ९ बजे हुने पहिलो खेलमा दशरथचन्द नगरपालिका वडा नम्वर ३ दुर्गाभवानी र वडा नम्वर ६ थालीगडा आमनेसामने हुने भएका छन् ।  दोस्रो खेलमा पनि यी दुवै टोली भिड्नेछन् । विजेता टोली सेमिफाईनलमा स्थान सुरक्षित गर्ने मेयर कप क्रिकेट प्रतियोगिताका सल्लाहकार तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।  
शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो । टि ट्वान्टी फरम्याटमा भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ टिमको सहभागिता रहेको छ । माघ ३ गतेदेखि सुरु भएको मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal