• ON AIRBahakine Man
  • UP NEXT

कांग्रेस बैतडीको चारतारे लोकतान्त्रिक चौतारी अभियान , विभिन्न ठाउँमा कार्यक्रम

news

नेपाली कांग्रेस बैतडीले थालेको चारतारे लोकतान्त्रिक चौतारी अभियान अन्तर्गत जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम सम्पन्न गरेको जनाएको छ । आर्थिक र सामाजिक विकास,संगठन सुदृढीकरण एवं स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अभियान थालिएको नेपाली कांग्रेस बैतडीका सचिव बीर बहादुर बिष्टले जानकारी दिनुभयो ।

जिल्लाका ४ ओटै नगरपालिका र ६ ओटै गाउँपालिकामा टोली खटाएर विभिन्न ठाउँमा अभियान अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचनमा कांग्रेसको रणनीतिका बारेमा जनतालाई बताउने उद्देश्यले कार्यक्रम भइरहेको उहाँले बताउनुभयो । यसैबीच नेपाली कांग्रेसले बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ देहीमाण्डौं चारतारे लोकतान्त्रिक चौतारी अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

चारतारे लोकतान्त्रिक चौतारी अभियानका दशरथचन्द नगरपालिका संयोजक चतुर बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापा प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका सदस्य, शुभेच्छुक लगायतका सहभागिता रहेको थियो ।

कार्यक्रममा वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका बिषयमा बिशेष छलफल भएको बताइएको छ । यस्तै सुरनया गाउँपालिकाको वडा नं ४ सनशेरीमाण्डौंमा पनि चारतारे लोकतान्त्रिक चौतारी अभियान अन्तर्गत कार्यक्रम सम्पन्न भएको कांग्रेसले जनाएको छ । गगन बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वराज्यमन्त्री केशव बहादुर चन्द, जिल्ला बीर बहादुर बिष्ट लगायतका नेताहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा स्थानीय तहको निर्वाचनका बिषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै पूर्व सहायकमन्त्री केशव बहादुर चन्दले नेपाली कांग्रेसको नेतृत्वमा बनेको नयाँ संविधान कार्यान्वयनका लागि स्थानीय तहमा पनि कांग्रेसकै नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि कांग्रेस बाहेक विकल्प नभएको उहाँले दाबी गर्नुभएको छ । 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal