• ON AIR
  • UP NEXT

बालविवाह न्यूनीकरण गर्न ५ बर्षे रणनैतिक योजना तयार

news

बैतडी,२९ पुस-
बैतडीमा बालविवाह न्यूनीकरणका लागि ५ बर्षे रणनैतिक योजना तयार पारिएको छ । आगामी ५ बर्षभित्र जिल्लालाई बालविवाहमुक्त घोषणाका लागि अपनाउनुपर्ने रणनीति क्रियाकलाप सहितको रणनैतिक योजना तयार पारिएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था ओआरडीएसले रणनैतिक योजना तयार पारेको हो । गएको चैतदेखि रणनैतिक योजना बनाउने कार्य सुरु गरि रणनैतिक योजना तयार पारिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ बैतडी धेरै बालविवाह हुने जिल्ला मध्ये ५ औं स्थानमा रहेकाले बालविवाह न्यूनीकरणका लागि रणनैतिक योजना आवश्यक भएकाले योजना तयार पारेका हौं” 
योजनामा बालिका र किशोरीको सशक्तीकरण, बालिका र किशोरीका लागि गुणस्तरीय शिक्षा, बालक,किशोर र पुरुषको सहभागिता, परिवार र समुदायको परिचालन, सेवा प्रवाह र कानुन र नितीको सुदृढीकरण र कार्यान्वयन समेटिएको छ । बालविवाह न्यूनीकरणका लागि बनाइएको रणनैतिक योजना सार्वजनिक गर्दै ओआरडीएसका लोकेशलाल शाहले बालविवाह न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । 
यस्तै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बालविवाह कानुन विरुद्धको कार्यभएपनि अहिले कुनै उजुरी नपरेको बताउनुभयो । उहाँले भन्नुभयो“ बालविवाह न्यूनीकरणका लागि ग्रामीणस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ” 
यस्तै महिला विकास अधिकृत अनिता बुढाऐरले बालविवाहले समग्र महिलाको जीवनमा समस्या ल्याउने भएकाले यसको रोकथामका लागि सबैले लाग्नुपर्नेमा जोड दिनुभयो ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal