• ON AIR
  • UP NEXT

इपिएल क्रिकेट : विराटनगर च्याम्पियन,भैरहवा १ रनले स्तब्ध

news

काठमाडौं, १५ पुस - एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर वारियर्सले जितेको छ ।

शनिबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमान्चक फाइनल खेलमा विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै उपाधि उचालेको हो ।च्याम्पियन भएसँगै विराटनगरले २१ लाख रुपैयाँ पुरस्कार पाएको छ ।उपविजेता भैरहवाले १० ला प्राप्त गरेको छ ।
१५० रनको विजय लक्ष्य पछ्याएको भैरहवाले निर्धारित् २० ओभरमा ९ विकेट गुमाएर १४८ रनमात्र बनाएपछि विराटनगरले सनसनीपूर्ण जित हासिल गर्‍यो ।एकपटक खेल भैरहवाको पक्षमा गइसकेकोजस्तो देखिएको अवस्थामा विराटनगरका बलरले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जिताएका हुन् ।

भैरहवाका लागि कप्तान शरद भेषावकरले सर्वाधिक ५२ रन बनाए । ३९ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

भैरहवाका लागि प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रनको योगदान दिए । तर, अरु ब्याट्सम्यान चल्न नसक्दा भैरहवा च्याम्पियन बन्नबाट चुक्यो ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ४१, कप्तान पारस खड्काले २७, अनिल साहले २२ र प्रनित थापामगरले १६ र बाबर हायतले ११ रनको योगदान गरे ।

भैरहवाका लागि कृष्ण कार्की र हरिशंकर साहले समान २/२ तथा शरद भेषावकर र आरिफ शेखले समान १/१ विकेट लिए ।

म्यान अफ द सिरीज विराटनगरका बावर हायत भए उनले प्रतियोगिताभर ३१३ रन बनाएका  थिए। ‘म्यान अफ द फाइनल’ विराटनगरका कप्तान खड्का चुनिए ।

यसअघि, लिग चरण र पहिलो क्यालिफायर्समा पनि विराटनगरले भैरहवालाई पराजित गरेको थियो ।

६ टिमले सहभागिता जनाएको प्रतियोगितामा काठमाडौं किंग्स इलेभेन र चितवन टाइगर्स समूह चरणबाटै बाहिरिएका थिए भने ललितपुर प्याट्रियट्स र पोखरा राइनोज् अन्तिम चारको भिडन्तबाट बाहिरिएका थिए ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal