• ON AIR
  • UP NEXT

ईपिएल क्रिकेट: उपाधिका लागी भैरहवा र विराटनगर भिड्ने

news

काठमाडौं, १३ पुस-  रोमाञ्चक खेलमा ललितपुर प्याट्रिओट्सलाई हराउँदै भैरहवा ग्लाडिएटर एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा ललितपुर प्याट्रिओट्सलाई भैरहवाले ३ विकेटले पराजित गर्दै फाइनलमा विराटनगर वारियर्ससँग भेट पक्का गरेको हो। फाइनल शनिबार हुनेछ।

ललितपुरले दिएको १ सय ३३ रनको लक्ष्य भैरहवाले ३ बल बाँकी छदा ७ विकेटको क्षतिमा पार गर्‍यो। अन्तिम ओभरमा १३ रनको आवश्यकता रहेको अवस्थामा भैहरवाका रोहितकुमार पौडेलले पहिलो र दोस्रो बलमा लगातार छक्का प्रहार गरे। रोहितले नटआउट २८ रनको योगदान गरे। उनले १७ बलमा १ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि भैरहवाका ओपनिङ ब्याट्सम्यान राहुल यादव ९ रनमा रनआउट भए। यस्तै अर्का ओपनर प्रथम सालुङ्के ३२ रनमा आउट भए। उनलाई ललितपुरका सन्दीप लामिछानेले बोल्ड गरे। आउट हुनुअघि प्रथमले सन्दीपलाई लगातार ३ छक्का प्रहार गरे। उनले २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

यस्तै कप्तान शरद भेषावकर ९ रनमै पेभिलियन फर्के। शरदले ८ बल खेल्दा १ चौका हिर्काए।  आरिफ शेख ६ रन बनाएर खेलिरहँदा ललितनारायण राजवंशीको डलबिडब्लुको धरापमा परे। लगत्तै प्रदीप ऐरी ५ रनको झिनो स्कोरमा आउट भए। भुपेन्द्र थापाले २९ बलमा १९ रनको योगदान गरे।

बलिङतर्फ पवन शर्राफ र ललितनारायण राजवंशीले २-२ विकेट लिए। रसिद खान र सन्दीप लामिछानेले १-१ विकेट हात पारे।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन जोड्यो।

ललितपुरका लागि ओपनर जयकिशन कोल्सावाला ४२ रनमा आउट भए। उनले ३७ बलमा ५ चौका र २ छक्का हिर्काए। अर्का ओपनर शंकर राना १२ रनमा रनआउटको सिकार बने। उनले २६ बलमा १ चौका मात्र प्रहार गर्न सके।

सनी पटेलले २४ रनको योगदान दिए। उनले १८ बलमा २ चौका र १ छक्का हिर्काए। कुशल भुर्तेल खाता नै खोल्न नपाई पेभिलियन फर्के। कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए।

अन्तिम ओभरमा दिपेश भन्डारीले २ चौका र २ छक्का प्रहार गरे। उनी २० रनमा आउट भए। सोनु तामाङले नटआउट १० रनको योगदान दिए। बलिङतर्फ भैरहवाका पुनित मेहराले २ विकेट लिए। आरिफ शेख, हरिशंकर साह र भुवन कार्कीले १-१ विकेट हात पारे।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal