• ON AIR
  • UP NEXT

पाटन नयाँशहरको काम अगाडी बढाउनेलाई भोट हाल्ने

news

बैतडी- बैतडीको पाटन क्षेत्रका मतदाताहरुले पाटन नयाँशहरको काम अघि बढोस भन्ने इच्छा राखेका छन् । 
 
२०६८÷६९ मा सरकारले देशका १० ओटा नयाँ शहर निर्माण गर्ने घोषणा गरेको भएपनि अपेक्षाकृत रुपमा काम अघि बढ्न नसकेकाले पाटन नयाँ शहर आयोजना लगायतका कामलाई अघि बढाउने नेतालाई छान्ने धेरै मतदाताले बताएका छन् ।
 
पाटन जिल्लाकै रमणीय ठाउँ भएको र नयाँशहर आयोजना पनि सञ्चालनमा रहेकाले यो कामलाई अघि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको पत्रकार लक्ष्मीदत्त पाण्डेयले बताउनुभयो । पाटनमा विगतमा ठगिएकाले यसको विकासमा सहयोग गर्ने उम्मेद्वारलाई भोट दिने मतदाताहरुले बताएका छन् ।
 
पाटन नयाँ शहरको काम अघि बढेमा यो क्षेत्रको विकास हुने र नयाँशहरको कामलाई अघि बढाउन पहल गर्न सक्ने क्षमता भएको नेतालाई भोट दिने पाटन नगरपालिका ६ का धर्मसिंह बिष्टले बताउनुभयो । पाटन नयाँ शहर देशकै गौरवको आयोजना भएकाले यसलाई अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
 
पाटनमा एकीकृत बस्ती निर्माण, नयाँ शहर आयोजना निर्माणका लागि जग्गा प्राप्तिमा समेत कठीनाई भईरहेको अवस्थामा समुदायमा सबैसंग मिलेर काम गर्न सक्ने नेतालाई भोट दिने पाटनकी डम्मरी भट्टले बताउनुभयो । आगामी २० बर्षमा एकलाख मानिसको बसोबास हुने किसिमले शहरका सबै पूर्वाधार निर्माण गरिसक्ने सरकारको लक्ष्य रहेको भएपनि सोचे अनुसार काम हुन नसकेको पाटन नयाँ शहर आयोजनाका प्रमुख प्रवीण शाहले जानकारी दिनुभयो ।
 
 
पाटन नयाँशहरको एकीकृत विकास योजनाको ड्राफट परामर्शदाता कम्पनीले तयार गरिसकेकाले अब आयोजनाको काम अघि बढ्ने उहाँले बताउनुभयो । राष्ट्रिय गौरवका आयोजनाका काम अघि बढाउन राजनैतिक नेतृत्वको समेत महत्वपूर्ण भूमिका हुने शाहको भनाई छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal