• ON AIR
  • UP NEXT

दशरथचन्द नगरपालिकाको बजेट ५३ करोड

news

बैतडी,२६ साउन -जिल्लाको पुरानो नगरपालिका दशरथचन्द नगरपालिकाको पहिलो नगरसभा तथा बजेट अधिवेशनले ५३ करोड ३९ लाख ९६ हजार ५३३ को बजेट पारित गरेको छ । बिहीबार सम्पन्न बजेट अधिवेशनले सबैभन्दा बढी पूर्वाधार विकासमा ५० प्रतिशत बजेट विनियोजन गरेको नगरपालिकाका नगरप्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो । यस्तै सामाजिक विकासमा २३ प्रतिशत, आर्थिक विकासमा १२ प्रतिशत, वातावरण र विपद् व्यवस्थापनमा १० प्रतिशत, संस्थागत विकासमा ३ प्रतिशत, बित्तिय व्यवस्थापन र सुशासनमा २ प्रतिशत रकम विनियोजन गरिएको छ ।  
नगरपालिकाले भौतिक पूर्वाधार विकासमा खानेपानी, सडक, सिंचाई, कृषिमा जोड दिने नीति लिएको छ ।  नगरपालिकाको बजेट, निती तथा कार्यक्रममा ‘सफा समृद्धि र उज्यालो शहर,दशरथचन्द नगरवासीको साझा रहर’भन्ने नारा तय गरिएको र यो नारालाई सार्थक तुल्याउन बजेट केन्द्रित गरिएको नगरप्रमुख थापाले बताउनुभयो । कुल पूँजीगत बजेटको ५० प्रतिशत वडा कार्यालयलाई दिएको र त्यसपछि भुगोल, जनसंख्या र विकटताको हिसाबले बजेट थप गरेको उहाँले बताउनुभयो ।  
यस्तै नगरपालिकाले नगरपालिका भित्रको फोहर व्यवस्थापनलाई प्राथमिकता दिएको छ भने नयाँ वडाहरुमा सौर्य सडकबत्तीका लागि पनि बजेट छुट्याइएको छ । 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal