• ON AIR
  • UP NEXT

दशरथचन्द नगरपालिकाको मतगणना प्रक्रियामा धाँदली भएको राप्रपाको आरोप

news

असार१८, बैतडी- राष्ट्रिय प्रजातन्त्र पार्टीले दशरथचन्द नगरपालिकाको मतगणना प्रक्रियामा धाँदली भएको आरोप लगाएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरेर मतगणनास्थलमा बत्ती निभाउने, प्रतिनिधि नभएकाहरु भित्र जाने लगायतका काम गरेको आरोप लगाएको छ ।
 
मतगणनापछि आफ्ना प्रतिनिधिहरुले सहीछाप नगरिकनै मतपरिणाम सार्वजनिक गरेको आरोप समेत राप्रपाले लगाएको छ । राप्रपाका अध्यक्ष प्रेमबहादुर चन्दले हस्ताक्षर गरेको विज्ञप्तीमा आफूहरु अदालत जाने समेत उल्लेख गरिएको छ । दशरथचन्द नगरपालिकाको मेयरमा राप्रपाका पुष्करराज जोशी (लख्खाभाई)लाई ६२ मतले पराजित गर्दै नेपाली कांग्रेसका नरेन्द्रसिंह थापा विजयी हुनुभएको छ ।
 
शुरुदेखि अग्रता लिइरहेका पुष्करराज जोशी (लख्खाभाई) अन्तिममा पराजित हुनुभएको थियो । नेपाली कांग्रेसका नरेन्द्रसिंह थापाले ३ हजार ७६२ मत ल्याउनुभएको थियो भने राप्रपाका पुष्करराज जोशी (लख्खाभाई) ३ हजार ७सय मत ल्याउनुभएको थियो । राप्रपाले मतगणनामा धाँदली गरेको आरोप लगाएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरेको छ ।
 
जिल्ला न्यायधिश एवं मुख्य निर्वाचन अधिकृत धु्रवकुमार शाहले आफूहरुले कानुन अनुसार काम गर्ने र कसैले भन्दैमा प्रमाणपत्र प्रदान र शपथ ग्रहणको कार्य नरोकिने बताउनुभयो । उच्च अदालतले अन्तरीम आदेश दिएमा मात्रै प्रक्रिया रोकिने उहाँले बताउनुभयो । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal